
काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन ४० भन्दा बढी जिल्लामा हिजो सुरु भएको अधिवेशनको परिणाम आउन सुरु गरेको छ । दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन सुरु भएको हो ।
हिजो राती अबेरसम्म भएको मतदानको परीणाम आउन सुरु गरेको छ । जसअनुसार स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ । थापाले १११७ मत ल्याई निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याउनु भएको छ । यस्तै कास्कीमा कसैले पनि बहुमत ल्याउन सकेनन् ।
५ जना प्रतिस्पर्धी रहेकोमा किशोरदत्त बराल र सुदीपमोहन भट्टराईबीच आज पुनः मतदान हुने भएको छ । २ हजार २५ मतमध्ये सर्वाधिक मत ल्याएका बरालले ६ सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भट्टराईले ४ सय ६९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । तेस्रो रहेका आइबहादुरले ४ सय ६२ मत प्राप्त गर्नुभयो ।
पोषनाथ शर्माको ३ सय ३५ र गिरीराज गौतमको ६३ मत छ । ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । सभापति चयनका लागि दोस्रो पटक आज हुने मतदानमा सबै क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन् । केही जिल्लामा भने अधिवेशन प्रक्रिया स्थगित गर्नुका साथै केही दिन सारिएको छ ।
चितवन जिल्लाको अधिवेशन केही दिन स्थगित गरिएको छ । नेकपा एमालेको चितवनमा जारी महाधिवेशन कारण केही दिन अधिवेशनको प्रक्रिया स्थगित हुन पुगेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मकवानपुरले एक सातापछि जिल्ला अधिवेशन गर्ने भएको छ ।
मकवानपुरको हेटौंडामा यही मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि जिल्ला अधिवेशन एक सातापछि सार्न सहमति मागेको जानकारी केन्द्रीय निर्वाचन समितिले दिएको छ । काठमाडौँको जिल्ला अधिवेशन दुई दिन सरेको छ ।
आज उम्मेदवारको मनोनयन दर्ता गरेर १२ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ । यस्तै मंसिर १६ र १७ गते सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्