
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओली बैठकस्थल सौराहको होटल सेभेन स्टारमा केहीबेरअघि प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो ।
बन्द सत्रमा विदेशी पाहुनाहरुको सम्बोधन गर्नुका साथै विधान संशोधनको निर्णय गरेको केन्द्रीय कमिटीको निर्णयको सन्दर्भमा पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
सर्वसम्मतिमा नेतृत्व चयनका लागि ओलीले शुक्रबार बेलुकीदेखि शनिबार दिउँसो १ बजेसम्म व्यापक छलफल गर्नुभएको थियो ।
त्यसका लागि शुक्रबार बसेको नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले विधानसमेत संशोधन गर्दै पदाधिकारी थप गर्ने निर्णय गरेको थियो ।
विधान संशोधन गरेर अघि बढे पनि महाधिवेशन निर्वाचनमै जाने देखिएको छ । अध्यक्ष पदमा भीम रावल आफ्नो दावेदारीबाट पछि हट्नुभएको छैन भने वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोरखेलले पछि हट्ने छाँट देखाएका छैनन् ।
यसैबीच एमालेले शुक्रबार नारायणी तीरमा महाधिवेशनको उद्घाटन समारोहको आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्