
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेको दशौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभएको छ ।
चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको उहाँको टिप्पणी थियो ।
माओवादी केन्द्रको शनिबारदेखि सुरु पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने उल्लेख गर्नुभयो ।
एमालेको महाधिवेशनलाई तथाकथित भन्दै जनतालाई भ्रम दिने ध्यान मात्रै रहेको उहाँको भनाइ थियो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ छ ।
उहाँले सबैभन्दा भिन्न विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्ने दाबी गर्नुभयो ।
एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने उहाँको भनाइ थियो ।
माओवादी कमजोर भए परिवर्तनका एजेन्डा र राष्ट्रियता कमजोर भएर देश दुर्घटनामा जाने भन्दै दाहालले पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति दृढ रही रक्षा गर्न निर्देशन दिनुभयो । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्