
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षडयन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताउनुभएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दैै उहाँले एमाले जालझेलपूर्ण षडयन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा आइपुगेको बताउनुभयो ।
ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।
देशको न्यायपालिका असफल हुँदा राज्य प्रणाली र लोकतान्त्रिक प्रणाली नै असफल हुने बताउनुभयो । शक्ति पृथकीकरणको सिद्धान्तमा खलल आए देशको न्याय प्रणाली ध्वस्त हुने उहाँको चेतावनी छ ।
शुक्रबारबाट सुरु भएको महाधिवेशनले जनपरिचालन गर्ने र एमाले सिद्धियो भन्नेहरूको सपना आंशिक रुपमा भंग गरिदिएको बताउनुभयो ।
राजनीतिमा देखिएका विकृति, विसंगति र पदभ्रष्टतालाई सही ठाउँमा ल्याउनका लागि एमालेले सही नेतृत्व चयन गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
उहाँले विदेशबाट नेकपा एमालेलाई महाधिवेशनको शुभकामना दिन आउने सम्पूर्ण विदेशी पाहुनाहरुलाई धन्यवाद दिँदै आउन नपाए पनि भिडियो र शुभकामना सन्देश पठाउनेहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्