१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछापबाट ५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो


0
Shares

बद्री नयाँघरे
रामेछाप । रामेछाप र ओखलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै ५२ दशमलव ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडिएको हो । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको हो ।

रामेछापको उमाकुण्ड ७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाइ ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङ मार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।

उत्पादन गृहमा २ वटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ । उत्पादित विद्युतलाई २ सय २० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा निर्माण भएको न्यू खिम्ती सवस्टेशनमा जोडिएको हो । आयोजनाले तत्कालै सर्वसाधारणको लागि पनि सेयर निष्काशनन गर्ने जनाएको छ ।

सुरुमा १ सय २० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिखु–४ जलविद्युत आयोजनामा भारतीय कम्पनी भिलवारासँगको साझेदारी टुटेपछि ग्रिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटाएर काम थालेको थियो ।

आयोजनाले तोकिएको अवधिमा नै निर्माण पूरा गरी उत्पादन थालेको हो । यसअघि रामेछापको हलेदेबेसीदेखि ओखलढुंगाको रगनी सम्मको प्रवेश सडक लगायतको पूर्वाधारको काम गरेको थियो ।

लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजना समेत निर्माणाधीन अवस्थामा छन् । लिखु १, २, ३ र लिखु ए जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन् ।