
काठमाडौं । नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पारेका चार नेताले पदाधिकारीमा पनि सहमति गर्न भीम रावललाइ बरिष्ठ उपाध्यक्ष बनाउन विकल्प दिएका छन् ।
रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि मतदानमा जान नपरोस भन्नका लागि अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले उक्त सुझाव दिएका हुन् । एमालेका एक नेताका अनुसार यसो गर्दा ईश्वर पोखरेललाई पुनः महासचिव बनाउन पनि ओलीलाई सुझाइएको छ । शुक्रबार केन्द्रीय कमिटीका सदस्यहरुको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । सो अनुरुप ओलीले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिनुभएको थियो ।
उनीहरुले आजै ३०१ केन्द्रीय सदस्यको नामावली ओलीलाई बुझाएका ती नेताले इमेज खबरलाई जानकारी दिए । केन्द्रीय सदस्यमा पुरानालाई नै दोहोर्याइएको र केही नयाँ थप गरिएको छ ।
त्यसलाई ओलीसँग फेरि छलफल गरेर अन्तिम रुप दिइनेछ । रावलले अध्यक्षमा उम्मेदवारी दिएर प्रचार प्रसार शुरु गरेपछि एमालेमा सहमतिमा सकस भएको हो । ओली निकटका नेताहरुले ओलीलाई अध्यक्षमा सहमतिमै दोहोरयाउन खोजिरहँदा रावलको उम्मेदवारीले निर्वाचनमा जानुपर्ने अवस्था छ ।
तर अब रावलसँग छलफल गरेर उहाँले वरिष्ठ उपाध्यक्ष स्वीकार गरेमा निर्वाचनबिनै एमालेको पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाइनेछ । पदाधिकारीको अरु पदमा आकांक्षीहरुलाई मिलाउने प्रयास भइरहेको छ । एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै देखिएका छन् । यसैबीच आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्द सत्र साँझ ७ बजे बस्ने भएको छ ।
नेताहरु नेतृत्व चयनमा सहमतिका लागि जुटेपछि अहिलेसम्म बन्द सत्र शुरु हुन नसकेको हो । एमालेको १० औं महाधिवेशन शुक्रबारदेखि चितवनमा शुरु भएको हो । शुक्रबार उद्घाटन सत्र नारायणगढ स्थित नारायणी नदी किनारमा गरिएको थियो भने बन्द सत्र सौराहामा गरिएको छ । सहमतिमा नेतृत्व चयन लगायतका काम भएमा महाधिवेशन आजै सकिने एमाले नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्