२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भक्तपुर कांग्रेसको सभापतिमा दुई हस्तीबीच भिडन्त हुँदै, मतदान सुरु, मत परिणाम आजै आउने


0
Shares

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीबीच भिडन्त हुने भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेंले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन सोमबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म पार्टीको जिल्ला कार्यालयमा भइरहेको एक नेताले जानकारी दिनुभयो । मतदान सकिएपछि आजै मत परिणाम आउने सम्भावना रहेको ती नेताले बताउनुभयो ।

थापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका हुन भने कवें संस्थापन इत्तर पक्षका नेता एवम् कांग्रेस नेता प्रकाशमान सिंह निकटका हुन ।

थापा र कवेंबीच १३ औं महाधिवेशनमा पनि जिल्ला सभापतिका लागि भिडन्त भएको थियो । सो बेला पहिलो चरणमा कवें पहिलो र थापा दोस्रो भएका थिए । कांग्रेसको विधान अनुसार पहिलो चरणमा सभापतिका उम्मेदवारहरु थापा, कवे, गणेशमान चक्रधर र राजाराम खड्का कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि दोस्रो चरणमा कवें र थापाबीच पुनः प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा थापाले खड्का र चक्रधरको सहयोगमा कवेंलाई पछि पार्दै जिल्ला सभापति जितेका थिए ।

यसपटक थापालाई बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, वरिष्ठ पत्रकार कविर राणा, माथवरसिंह बस्नेत, मदनकृष्ण श्रेष्ठ, हरिप्रसाद नेपाललगायतका नेताहरुको समर्थन रहेको छ भने कवेंलाई पुर्व जिल्ला सभापतिहरु महेश श्रेष्ठ, गणेशमान चक्रधर, उद्धव सिलवाल, तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायष्ठलगायतका नेताहरुको साथ रहेको छ ।

संस्थापन पक्षले सभापतिमा थापासहित उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा सुशिल बस्नेत र राजेश खड्का एवम् सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले उम्मेदवारी दिएका छन ।

यस्तै, संस्थापन इत्तर पक्षबाट सभापतिमा कवेसहित उपसभापतिमा गोकुलराज खत्री र रामगोपाल न्यौपाने, सचिवमा कविन्द्र मिश्र र पूर्णकाजी श्रेष्ठ एवम् सहसचिवमा अनिल भुजु र विष्णुमान साँय्को उम्मेदवारी परेको छ ।