
काठमाडौं । अन्ततः नेकपा एमालेमा निर्वाचनबाटै नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ । १०औं महाधिवेशनका क्रममा चितवनको सौराहामा जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचिमा सर्वसम्मति नजुटेपछि नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।
निर्वाचन कार्यक्रम अनुसार अहिले विहान ८ बजेदेखि उम्मेदवारहरुको मनोनयन शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र भीम रावलले अध्यक्षका लागि मनोनयन दर्ता गराएकाले रावल र ओलीबीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै युवराज ज्ञवालीले उपाध्यक्षमा र प्रदीप ज्ञवालीले उपमहासचिव पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । अन्य पदाधिकारीहरुमा पनि मनोनयन दर्ताको क्रम चलिरहेको छ । मनोनयनको समय साढे ९ बजेसम्म तोकिएको थियो ।
यता, रावलतर्फ उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । मतदान भने राती ९ बजेदेखि भोलि विहान ३ बजेसम्म चल्ने एमाले महाधिवेशन निर्वाचन आयोगले जनाएको छ । पदाधिकारीहरुमा चुनाव हुने भएपछि केन्द्रीय सदस्यमा पनि चुनाव हुने संभावना बढेको छ ।
गएराती अध्यक्ष ओलीले आफ्नाे नेतृत्वमा १९ सदस्यीय पदाधिकारीको सूचि बन्दसत्रमा पेश गर्नुभएको थियो । उक्त सूचिप्रति बन्द सत्रका अधिकांश सहभागीले समर्थन गरे पनि दश भाई समूहभित्रका भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनमा जाने निर्णय गरिएको थियो । गएराती ओलीले ३०१ जना केन्द्रीय सदस्यको सूचि पनि बन्द सत्रमा पेश गर्नुभएको थियो ।
ओलीको प्रस्तावमा रावलले असहमति जनाएपछि केही बेर रावल विरुद्ध हो–हल्ला भएकोमा ओलीले सहभागीहरुलाई शान्त रहन भन्दै ‘रावलजीले उम्मेदवार बन्छु नै भन्ने हो भने दिनुपर्छ ।’ भन्नुभएको थिायो । ओलीले प्रस्ताव गरेका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल हुनुहुन्छ भने उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुबासचन्द्र नेम्बाङ हुनुहुन्छ ।
यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएक ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्