१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिने भएका छन् । दुवै पार्टीभित्र राम्रो पकड भएका नेता हुन् ।

नायिका तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले भने अध्यक्षमा लिङ्देनको समर्थन गर्नुभएको छ । उहाँले राजेन्द्रका लागि खुलेरै भोट माग्न थालिसक्नु भएको छ । आइतबार रेखाले फेसबुकमा एक पोस्टर राख्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा जिताउन आग्रह गर्नु भएको हो ।

राजेन्द्रले केही दिनअघि काठमाडौंको एक होटलमा उम्मेदवारी घोषणा गर्दा रेखा पनि उपस्थित हुनु भएकी थिइन् । काठमाडौं क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी उहाँ राजेन्द्रको प्यानलबाट राप्रपाको पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा रहेकी छिन् । तर, कुन पदमा उम्मेदवारी दिने भन्ने बारेमा अहिले नै टुंगो नलागेको रेखाले बताउनुभयो ।

२०७३ सालमा राप्रपा प्रवेश गर्दाको समयमा रेखा कमल थापा निकट मानिएतापनि राप्रपा फुटेपछि भने पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह–महामन्त्री बन्नु भएको थियो । पछि फेरि दुईटा राप्रपा एक भएपछि रेखा केन्द्रीय सदस्य बन्नु भएको थियो ।

यसपटक राप्रपाको अध्यक्षमा पशुपतिले पनि राजेन्द्रलाई समर्थन गर्नु भएकाले रेखाले यही प्यानलबाट उम्मेदवारी दिन लाग्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको यही मंसिर १५, १६ र १७ गते काठमाडौंमा केन्द्रीय एकता महाधिवेशन हुँदैछ ।