
काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।
दुईपटक केन्द्रीय सदस्य रहिसक्नुभएका पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।
संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’
पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउनुभयो । २००३ साल देखि २०१७ सालसम्म १४ वर्षमा सातवटा महाधिवेशन गरेको कांग्रेसमा २०४८ सालपछिको ३१ वर्षमा थप सात वटा महाधिवेशन गर्न नसक्नु लाजमर्दो भएको उहाँको टिप्पणी थियो ।
चार वर्षे पदावधि भएको नेतृत्वले थपिएको एक वर्ष र त्यसमा अरु ६ महिना थप्दा पनि महाधिवेशन गर्न नसक्नु निष्क्रियताको चरम अवस्था भएको पाण्डेको टिप्पणी थियो । ०४८ सालपछि चार/चार वर्षमा नियमित महाधिवेशन भएको भए अहिले पार्टीले १६औँ महाधिवेशन गर्नुपर्ने थियो, पाण्डेले भन्नुभयो ।
पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था लागु गर्नुपर्ने पनि पनि उहाँको मत छ । १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट निर्वाचित हुनुभएका पाण्डे १३ औँ महाधिवेशनमा भने खुला २५ मा चुनिनुभएको थियो ।
महाधिवेशनपछि नयाँ कार्यसमितिले निर्वाचित भई पार्टी चलाउने र प्रधानमन्त्रीले देश मात्र चलाउने दाबी पनि उहाँको थियो ।
प्रतिक्रिया दिनुहोस्