‘कोरोना भाइरस’ परीक्षणका लागि विमानस्थलमा ‘डेस्क’, नेपालमा पनि भित्रिने खतरा

news

नरेन्द्र मानन्धर (इमेज)

काठमाडौं, माघ ६ । चीनबाट सुरु भएको नयाँ रोग ‘कोरोना भाइरस’को संक्रमण नियन्त्रणका लागि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेस्क’ नै खडा गरी चीन तथा अन्य देशबाट आउने पर्यटकहरुसँग परामर्श गर्न थालिएको छ ।

कोरोना भाइरसका कारण चीनमा तीनजनाको मृत्य भइसकेको छ भने २०० जनाभन्दा बढी व्यक्तिमा संक्रमण रहेको पाइएको जनाइएको छ ।

चीनबाट नेपाल आउने पर्यटकले सो रोगको संक्रमण ल्याउनसक्ने ठानी विशेष सतर्कता अपनाउन थालिएको हो ।

चिनियाँ पर्यटकको संख्या बढिरहेको बेला कोरोना भाइरस नेपाल भित्रनसक्ने आशंका बढेको छ ।

विश्व स्वास्थ्य संगठनले कारोना भाइरस चिनियाँ पर्यटकबाट फैलनसक्ने भन्दै विशेष सतर्कता अपनाउन विश्वभर सचेत गराएको छ ।

तर, नेपालमा जति मात्रामा सचेतता अपनाउनुपर्ने हो, त्यति हुनसकेको छैन ।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल विमानस्थलमा नै ‘क्वारेन्टायन’ राखेर विशेष अनुगमन गर्न सुझाव दिन्छन् ।

भलै, अहिलेसम्म यो भाइरस नेपालमा नदेखिएको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । र पनि सजगता भने अपनाउन थालिएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।

कोरोना नामको नयाँ भाइरस गत पुस २२ गते चीनको वुहान सहरको ‘सी–फुड’ बजारमा पहिलोपटक पहिचान भएको हो ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउनेक्रममा करिब पाँच लाख चिनियाँ पर्यटक नेपाल आउने अनुमान गरिएको छ ।

चिनियाँ पर्यटकसँगै कोरोना भाइरस नेपाल नछिरोस् भनेर सतर्कता अपनाउन र भाइरस प्रवेश गरे के गर्ने भन्नेमा सरकारको ध्यान जानुपर्दछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...