
बिराज रोस्यारा
कैलाली । सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्रहरी प्रशासनको बेवास्ता र अभिभावकले निगरानी नगर्दा युवाहरूको आपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको छ ।
पछिल्लो समय किशोर–किशोरी तथा युवाहरू मदिरा तथा लागू पदार्थको लतका कारण पनि ट्रयाकभन्दा बाहिर जान थालेकाले अपराधमा संलग्नता बढेको नागरिक समाजका अगुवा रविनकान्त पन्तले बताउनुभयो ।
आफ्ना छोराछोरीप्रति अभिभावकको रेखदेख नहुनु, छोराछोरीले गरेका गल्ती कमजोरीलाई अभिभावकले लुकाउनु र देखासिकी गर्दै गुण्डागर्दीमा लाग्दा पनि पछिल्लो समय समाजमा आपराधिक कृयाकलाप मौलाएको पन्तको भनाइ छ ।
युवाहरूलाई समयमै संस्कार र नैतिक शिक्षा दिन नसके उनीहरू अपराधतर्फ उन्मूख हुने पन्त बताउनुहुन्छ ।
स–साना अपराधमा संरक्षण पाउन थालेपछि युवाहरू विभिन्न गिरोह अहिले जघन्य अपराधमा सक्रिय भएको देखिएको छ । स्थानीयले आपराधिक गतिविधिमा सक्रिय गिरोहलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।
आँखा अगाडि नै हुने अपराध हुन नदिन प्रहरीले बेवास्ता गर्दा र जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुँदा अपराध बढिरहेको टीकापुरका स्थानीय सम थापा बताउनुहुन्छ ।
अभिभावकले नै छोराछोरीको गल्ती कमजोरी ढाकछोप गर्दा युवाहरूमा गलत कार्य गर्ने मनोवृत्ति बढ्न गइ समाजमा अपराध मौलाइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।
प्रहरीमा आएका किशोर–किशोरीले घटाएका घटनामा अधिकांश मुद्दाहरू कुलत र कुसंगतका कारण भएको उहाँको भनाइ छ ।
प्रहरीको तथ्याङ्कले कैलालीमा प्रदेशमै सबैभन्दा बढी अपराधका घटना हुने देखाएको छ । कैलालीको लम्की र टीकापुर क्षेत्रमा मात्रै गत आर्थिक वर्षमा ४ सय ९५ मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा एक सय २० घटना प्रहरीमा दर्ता भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्