१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै


0
Shares

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनु हुन्छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँन लाग्नु भएको हो ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर, मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिँन लाग्नु भएको हो ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री शाहीलाई उहाँको दल नेपाली कांग्रेससहित, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित २१ जना सांसदको समर्थन रहेको छ ।

कर्णाली प्रदेशसभामा हाल ३५ जना सांसद छन् । नेकपा (माओवादी केन्द्र) का १२, कांग्रेसको ६ र नेकपा (एकीकृत समाजवादी) का तीन सांसद छन् । यसैगरी, नेकपा (एमाले) का १३ र राप्रपाका एक जना सांसद छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । आफ्ना सबै सांसदहरु पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा रहेकाले बैठकमा सहभागी हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।

एमालेका सांसद अनुपस्थित भए पनि संसद् बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताउनुभयो ।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।