२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


नामै नसुनिएका देशबाट पनि लुम्बिनीमा पर्यटक !


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, माघ ७ । विश्व शान्तिको मुहान् बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१९ मा पौने दुई लाख पर्यटक भित्रिएका छन् ।

लुम्बिनीमा पछिल्ला वर्षहरुमा पर्यटक आवागमनमा वृद्धि भएको छ ।

११५ देशका एक लाख ७४ हजार १५  पर्यटक

सन् २०१९ मा लुम्बिनीमा ११५ देशका एक लाख ७४ हजार १५ जना पर्यटक तथा श्रद्धालु आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी विश्वकै आस्था र आकर्षणको केन्द्रका रुपमा रहेको छ ।

यहाँ सन् २०१८ मा १०८ देशका एक लाख ६९ हजार ९०४ जना विदेशी पर्यटक आएका थिए ।

लुम्बिनीमा श्रीलंका, थाइल्यान्ड, भियतनाम, चीन, कम्बोडिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसियासहित इरान, इराक, सिरिया, उरुग्वे, ताजिकिस्तान, क्युबा, दक्षिण अफ्रिका, बुर्किनाफासोलगायतका देशबाट पर्यटक घुम्न आएका थिए ।

कहाँबाट कति पर्यटक ?

सन् २०१९ मा लुम्बिनीमा सबैभन्दा बढी पर्यटक श्रीलंकाबाट आएको देखिएको छ । श्रीलंकाबाट ४७ हजार ५०७ जना आएका छन् ।

त्यस्तै, दोस्रोमा म्यानमारबाट ३० हजार ७९१, थाइल्यान्डबाट २८ हजार ३६४, चीनबाट २१ हजार २६९ जना पर्यटक आएका छन् ।

भियतनामबाट ८ हजार ३४५, दक्षिण कोरियाबाट ६ हजार १४५, जर्मनीबाट तीन हजार ३०६, फ्रान्सबाट दुई हजार १७, जापानबाट दुई हजार ५६, मलेसियाबाट १९ सय ९५ पर्यटक आएका छन् ।

यसैगरी, सन् २०१९ मा लुम्बिनीमा इरानबाट २९, दक्षिण अफ्रिकाबाट ४९, सर्बियाबाट ८, साउदी अरेबियाबाट ८, उरुग्वेबाट ७, फिलिपिन्सबाट ७ जना आएका छन् ।

सन् २०१८ को तथ्यांक

सन् २०१८ मा ‘बौद्धिस्ट’ मुलुक श्रीलंकाबाट ५९ हजार ९५९ जना पर्यटक लुम्बिनी आएका थिए ।

थाइल्यान्डबाट २६ हजार ६७७ जना आएका थिए । म्यानमारबाट २५ हजार ३३३ जना आएका थिए भने चीनबाट १८ हजार ४६० जना पर्यटक आएका थिए ।

लुम्बिनी आउने पर्यटकमध्ये सन् २०१८ को तुलनामा श्रीलंकाका पर्यटकमा कमी आएको छ । २०१८ मा ५९ हजार ९५९ जना आएकामा सन् २०१९ मा ४७ हजार ५०७ जनामात्र आएका छन् ।

सन् २०१८ को तुलनामा म्यानमार, थाइल्यान्ड, चीनबाट आउने पर्यटकको संख्यामा भने क्रमशः वृद्धि भएको देखिएको छ ।

यी देशबाटआए एक वर्षमा एकजनामात्र पर्यटक

लुम्बिनीमा कुनै देशबाट वर्षमा एकजनामात्र पर्यटक पनि आएका छन् ।

अल्बेनिया, एनडोरा, ताजिकिस्तान, बहामास, बहराइन, बोलिभिया, साइप्रस, लेबनान, जिम्बाब्वे, पलाउ र लिबियाबाट एक/एकजना पर्यटक आएका हुन् ।

दुई/दुई

त्यस्तै, अल्गेरियाबाट दुई, इराकबाट दुई, बुर्किनाफासोबाट दुई, बोटबास्नाबाट दुई,  इस्टोनियाबाट दुई, होन्डुरसबाट दुई, कुवेतबाट दुई, मलडोभाबाट दुई, मोनाकोबाट दुई, मोन्टेनिग्रोबाट दुई, दक्षिण सुडानबाट दुई, युएईबाट दुई पर्यटक आएका थिए ।

प्रवर्द्धन

लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारका लागि प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाइरहेको छ ।

संघीय सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको छ ।

विगत केही वर्षयतादेखि लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठलगायतका बौद्धसम्बन्धी कार्यक्रमका कारण बौद्धमार्गी तथा अध्येताको लुम्बिनीमा ध्यान तानेको छ ।