
काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा, देउवा, धर्म र कर्म मानेर राजनीति गर्ने मात्र राष्ट्रवादी हुने बताउनुभएको छ ।
बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले देशमा चारवटा प्रवृत्ति हावी भएको उल्लेख गर्दै राजा, देउता, धर्म र कर्म मानेर राजनीतिक गर्ने मात्र सच्चा राष्ट्रवादी भएको बताउनुभयो ।
‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रवाद राजनीति चारवटा प्रवृत्ति हावी भएको छ, त्यसभित्र देशभक्त र विदेशभक्तहरु पनि छन् ।’
महासचिव मैनालीले विदेशीहरुको हस्तक्षेपलाई राजा महेन्द्रले २०११ सालमा तुहाइदिए पनि २०४६ र २०६३ सालको आन्दोलनले अवान्छित बाह्य हस्तक्षेप भित्र्याएको आरोप लगाउनुभयो ।
‘२०४६ र २०६३ सालपछि नेपालमा अवान्छित बाह्य हस्तक्षेप भित्रियो,’ उहाँले भन्नुभयो, ‘२०४६ सालमा प्रजातन्त्रको बुइ चढेर आएको भारतीय र युरोपेली प्रभाव नेपालमा भित्रियो ।’
राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रले विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।
‘नेपाललाई भारतमा गाभ्न रोकेको र नेपाललाई भुटान हुनबाट जोगाउने काम राजा महेन्द्रले गरेका हुन्,’ उहाँले भन्नुभयो, ‘१० सालमा विधान सभा पास भएको भए नेपाल सिक्किमझैँ भारतमा गाभिन्थ्यो ।’
यद्यपि मैनालीले २०१७ साल पुस १ गते गरेको ‘कू’ को भने विरोध गर्नुभएको छ । उहाँले उक्त ‘कू’ लाई दक्षिणपन्थी राष्ट्रवादको संज्ञा दिनुभयो ।
मैनालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईले जनगणतन्त्र ल्याउन नसकेकोमा कुनै पनि ग्लानी र पश्चाताप नभएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।
माओवादीले भनेको क्रान्तिपछि देशमा विदेशी हस्तक्षेप झन् धेरै बढेर गएकाले इतिहासको समीक्षा गर्ने बेला भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्