
काठमाडौं । नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गतिशीलतालाई आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ ।
भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना सन्देश दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता, विचार, सिद्धान्त र राजनीतिक दलहरू समयअनुसार अद्यावधिक हुनुपर्ने भएकाले पार्टीले गतिशीलतालाई आत्मसाथ गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।
पोखरेलले विचारको हिसाबले पार्टी फरक–फरक भए पनि देशको स्वाभिमान रक्षा गर्ने मामलामा पार्टीहरु एक हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक स्थायित्व कायम हुनुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा राजनीतिक स्थायित्व कायम नहुँदा विदेशी शक्तिको चलखेल बढ्ने उहाँको भनाइ छ ।
देशका सम्पूर्ण राजनीतिक दलहरुले राजनीतिक स्थायित्वमा ध्यान आकर्षण गर्नुपर्ने बताउँदै उहाँले गठबन्धनको नाममा स्वार्थकेन्द्रीत कामहरू भइरहेको टिप्पणी गर्नुभयो । देशको नागरिक छिमेकी मुलुकको लापरवाहबाट मारिएको अवस्थामा कुटनीतिक नोटसमेत पठाउन नसकेकोमा उहाँले सरकारको आलोचना गर्नुभयो ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्