
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।
कार्यक्रमको सुरुवाती चरणमा सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका प्रतिनिधिहरु पुगेका थिए । कांग्रेसबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो ।
उनीहरुले आफ्नो सम्बोधन सकेर फर्किसकेपछि मात्र विपक्षी दल नेकपा (एमाले)का प्रतिनिधि पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको कार्यक्रमम सहभागी हुनुभएन । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल राप्रपालाई शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको थियो ।
पाँच दिनअघि चिवतनमा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पुगेर राप्रपाका अध्यक्ष कमल थापा शुभकामना दिनुभएको थियो । शुभकामना दिने क्रममा थापाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा गरेका दुई काम आफूलाई राम्रो लागेको बताउनुभएको थियो ।
अध्यक्ष थापानै एमालेको कार्यक्रममा पुगेपछि ओली नै राप्रपाको कार्यक्रममा जाने अनुमान गरिएको थियो । तर, ओली राप्रपाको महाधिवेशन उद्घाटनमा नगएपछि माधवकुमार नेपाल, पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच स्टेज सेयर नगर्ने मौन सहमति भएको भन्दै टिप्पणी सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्