
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा हिजो साँझदेखि नै बन्दसत्र शुरु भएको छ । बन्दसत्र आज पनि जारी रहने छ भने भोलि नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ । तर अहिलेसम्म मतदाता नामावली प्रकाशित नगरिएको भन्दै महाधिवेशनका सहभागीहरुले असन्तुष्टि जनाएका छन् ।
आज बिहान ९ बजेसम्ममा मतदाता नामावली प्रकाशित गर्ने र साँझसम्ममा उम्मेदवारको मनोनयन हुने बुझिएको छ । तर मनोनयन शुल्क निकै बढी राखिएकोमा पनि प्रतिनिधिहरुले आक्रोश ब्यक्त गरेका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको भन्दै प्रतिनिधिहरु आक्रोशित भएका हुन ।
नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् । पूर्व पञ्चहरुका तीन वटा समूह मिलेर राप्रपा बनेपछि पहिलो पटक भईरहेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।
राजधानीको भृकुटीमण्डपमा हिजो दिउँसो शुरु भएको महाधिवेशनको उद्घाट्न समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्