
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । देश संघीयतामा गएपछि कांग्रेसले पार्टीको संगठनलाई पनि संघीय संरचना अनुसार ढालेको छ । सोही अनुसार आज पहिलो पटक सातै प्रदेशको राजधानीमा प्रदेश अधिवेशन हुन लागेको हो ।
महाधिवेशन कार्यतालिकाअनुसार आज प्रदेश अधिवेशन उद्घाटन हुनेछ । भोलि १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ ।
प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।
प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ । यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन् ।
प्रदेश अधिवेशनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री सिटौलाविच समिकरण बनेको छ । संस्थापन इतर समुहले भने साझा उम्मेदवार चयन गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्