
काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँबाट सम्बोधन हुने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिनुभयो । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज बिहीबार बिहान ११ बजे हुने बताइएको छ ।
प्रदेशको संरचनाअनुसार काँग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ ।
प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ तथा सिटौला पक्षबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्