
प्रकाश नेपाल
इलाम । प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुरमा पदमार्ग निर्माणले पर्यटकलाई सहज भएको छ । नेपाल र भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा पदमार्ग निर्माण भएपछि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो ।
नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा नेपालपट्टिबाट पदमार्ग थिएन । सडकबाट सन्दकपुर जोडिए पनि पदमार्ग नहुँदा नेपाली पर्यटकहरू पदयात्राका लागि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर, अहिले नेपालपट्टिबाटै पदमार्ग निर्माण भएपछि भारत भएर आउने पर्यटकहरूले पनि नेपाली पदमार्ग प्रयोग गर्न थालेका छन् ।
सूर्योदय र हिमाली दृश्यको अवलोकनका लागि अग्ला डाँडाहरू नेपाली भू–भागमा रहेकाले भारतीय पर्यटकहरूपनि अहिले नेपालपट्टिको पदमार्गमा पदयात्रा गर्दै रमाउन थालेका हुन् । भारतबाट आएका पर्यटक आफूहरुले कञ्चनजंगा, मकालु, लोत्से, सगरमाथा लगायतका हिमाल हेर्दा रमाइलो लागेको बताउँछन् ।
सन्दकपुर प्रदेश नम्बर एककै प्रमुख पर्यटकीय गन्तव्य हो । पदमार्ग निर्माण भएपछि सन्दकपुर पुग्ने पर्यटकले दर्जनौं हिमश्रृंङ्खलाको दृश्यावलोकनसँगै सन्दकपुरको बस्तुस्थिति अवलोकन गर्न सहज भएको छ । प्रदेश सरकारबाट सन्दकपुर पर्यटकीय क्षेत्र भ्रमणका लागि पदमार्ग निर्माणको काम गरिएको हो ।

सन्दकपुरको माई नदीको मुहान क्षेत्रबाट पाँचथरको सीमा क्षेत्र आहालटारसम्म पदमार्ग निर्माण भएको छ । तीन किलोमिटर लामो पदमार्ग साढे तीन मिटर चौडाको रहेको छ । निर्माण सम्पन्न भएको पदमार्गका लागि ७७ लाख रुपैयाँ खर्च भएको छ ।
सन्दकपुरको पूर्वाधार विकासका लागि पर्यटकीय विकासमा आवास गृह, माई नदीको मुहान क्षेत्र संरक्षण र खानेपानी आयोजना निर्माणको काम हुँदै आएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताउनुभयो । पर्यटकीय क्षेत्रको सौन्दर्य र सुविधाका लागि आफूहरुले काम गरिरहेको उहाँको भनाइ छ ।
पदमार्ग निर्माण भएपछि नेपालबाट सन्दकपुर पुग्ने तेस्रो मुलुकका पर्यटकहरूलाई सहज भएको छ । नेपालबाट पदमार्ग नबन्दा सन्दकपुर भ्रमण गर्ने तेस्रो मुलकका पर्यटकहरुले नेपालको मात्रै भिसा हुने भएकाले भारतीय बाटो प्रयोग गर्न समस्या थियो ।
सन्दकपुरबाट नेपाल र भारतका ग्रामीण बस्ती, हिमश्रृङ्खला सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न गर्न वर्षेनी दुई लाख पर्यटक पुग्दै आएका छन् । त्यसमा पनि भारतीय सडक प्रयोग गर्ने पर्ने बाध्यता हटेपछि यस क्षेत्रमा पर्यटक झनै बढ्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्