१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धनगढीका अशक्तलाई घर–घरमै पुगेर कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)


0
Shares

बिराज रोस्यारा
कैलाली । कोरोनाविरुद्धको खोप घरमै लगाउन पाएपछि हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त व्यक्ति र परिवारका सदस्य खुसी भएका छन् ।

राज्यले अहिले सम्म कोरोना महामारीमा शारीरिक रूपले अशक्त भएका व्यक्तिलाई प्राथमिकता नदिएको भन्दै विभिन्न संघ संस्थाले आवाज उठाएपछि ढिलै भए पनि उनीहरूले खोप पाएका हुन् ।

खोप केन्द्रमा जान सक्ने अवस्था नभएकालाई धनगढी उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले घर–घरमै पुगेर खोप लगाउन थालेको स्वास्थ्यकर्मी भावना जोशी बताउनुहुन्छ । टोलीले शारीरिक रूपले अशक्त भएका विद्यार्थीहरूलाई पनि विद्यालयमै पुगेर खोप लगाएको छ ।

कोरोनाको महामारीमा अशक्त विद्यार्थीहरू पनि संक्रमित भएका कारण उनीहरूलाई कोभिड लाग्नबाट बचाउन खोप लगाउन आवश्यक रहेको ‘दक्षिणकाली बहिरा आवासिय विद्यालय’ धनगढीका शिक्षक परिवर्तन कोइरालाले जानकारी दिनुभयो ।

घर–घरमै खोप लगाउन पाएपछि शारिरीक रूपले अशक्त व्यक्तिहरूसमेत खुसी भएका छन् । कोर्डरेड, लुथरन विश्व फेडरेसन नेपाल दिगो विकास समाजको आर्थिक सहयोग र सर्वाङ्गीण अपांगता विकास समाज नेपालको समन्वयमा धनगढी उपमानगरपालिकाका १९ वटा वडाका शारीरिक रूपले अशक्तहरूलाई खोप लगाइएको हो ।

सर्वाङ्गीण अपांगता विकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले खोप अभियानमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिता नदिएपछि आफूहरू अग्रसर भएको जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप सुरुमा सरकारले प्राथमिताका आधारमा लगाए पनि अहिले भने सर्वसाधरणको पहुँचमा सहज बन्दै गएको छ ।

खोप सहज बन्दै गए पनि हिँडडुल गर्न नसक्ने शारीरिक रूपले अशक्त भएका व्यक्ति यसबाट बञ्चित भएका थिए । तर, धनगढी उपमहानगरपालिकाले सक्रियता देखाएपछि उनीहरूले पनि खोप लगाउन पाएका छन् । यद्यपि अझै पनि थुप्रै नागरिक र समुदाय खोपबाट बञ्चित छन् । त्यसतर्फ सरकारी ध्यान जानुपर्छ ।