१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षित वर्ग नै ‘नो हर्न’को खिल्ली उडाउँदै, तीन महिनामा पाँच हजारभन्दा बढीलाई कारबाही


13
Shares

दीपक श्रेष्ठ
काठमाडौं । तपाईं हिँडडुल गर्दा सवारी साधनको हर्नले कतिको आतंकित हुने गर्नुभएको छ ?

प्रहरीले अनावश्यक ठाउँमा हर्न नबजाउन पटक–पटक अभियान थाले पनि त्यसको शून्य प्रभाव देखिएको छ । बरु अति संवेदनदशील मानिने अस्पताल र शैक्षिक स्थल अगाडि नै यो नियमको खिल्ली उडाएको देखिन्छ ।

काठमाडौं उपत्यका बसोबास गर्नेका लागि जामको दृश्य र हर्नको आवाज कुनै नौलो विषय होइन । रहर होस या कहर जताततै हर्न बजाउने प्रतिस्पर्धा छ ।

सडक जाम भएको अवस्थामा त हर्नको प्रयोग यति गरिन्छ कि मानौं हर्न नै त्यसको औषधि हो । भदौ यता प्रहरीले अनावश्यक हर्न बजाउने पाँच हजारलाई कारबाहीको दायरामा ल्याएको छ । तर, समस्या ज्यूँका त्यूँ छ ।

प्रहरीले अत्यावश्यक बाहेक अन्य स्थितिमा हर्न नबजाउन सचेत गराए पनि चालकले अवज्ञा गर्ने गरेका छन् । बरु प्रेसर हर्न बजाउने प्रतिस्पर्धा छ ।

हर्नको अनावश्यक प्रयोगले वीर, निजामती, शिक्षण अस्पताल मात्र हैन, गंगालाल हृदय रोग केन्द्रसमेत प्रभावित छन् । देशका प्रमुख शैक्षिक प्रतिष्ठानहरू समेत सवारी साधनको हर्नबाट प्रभावित छन् ।

प्रहरीकाअनुसार कानुन थाहा भएकै वर्ग सवारी कानुनको खिल्ली उडाउन सक्रिय देखिन्छ । मादक पदार्थ सेवन, अत्यधिक गति, विना लाइसेन्स सवारी चलाउने जस्ता गतिविधिमा शिक्षित वर्गकै संलग्नता पाइने गरेको छ ।

काम देखाउन नियम थोपर्ने प्रहरी र नियम नतोडे सामाजिक प्रतिष्ठामै आँच आउने सोच भएका चालक नै सवारी नियमका बाधक हुन् । त्यसैले यसतर्फ सचेत नभएसम्म समस्याको निकास नभेटिने निश्चित छ ।