
बैतडी । मेला हेर्न गएका एक व्यक्ति आज(बिहीबार) मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
मंसिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा बिहीबार दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिंग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।
बाटोबाट करिब २५० मिटर तल भीरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । प्रहरीको टोली भोलि मात्र घटनास्थलमा पुग्ने उहाँको भनाइ छ ।
यता, बोहराका आफन्तले भने हत्याको आशंका गरेका छन् । उनीहरूले घटनाको विस्तृत अनुसन्धान गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्