१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक सिलिण्डर ग्यासमा एक हजार रुपैयाँ घाटा छ : कार्यकारी निर्देशक पौडेल

मन्त्रालय भन्छ– ‘विश्वका धेरै देशमा इन्धनमा लगाइने कर महंगो नै हुन्छ’

0
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एउटा एलपी ग्यास सिलिण्डरमा एक हजार रुपैयाँ घाटा बेहोरिरहेको जिकिर गर्नुभएको छ ।

बिहिबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले गरेको छलफलमा निर्देशक पौडलेले पौडेलले निगमले सबै भन्दा बढी एलपी ग्यासमा घाटा रहेको बताउनुभयो ।

नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको उहाँको भनाइ छ । ‘एलपी ग्यासमा सबै भन्दा धेरै घाटा छ,’ उहाँले भन्नुभयो, ‘दैनिक एक लाख सिलिण्डर मुलुकभर खपत हुँदा एउटा सिलिण्डरमा निगमले ७५० रुपैयाँ र सरकारको २५० रुपैयाँ घाटा बेहोरिरहेको छ ।’

निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिहेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निगमले सधैँ घाटामा रहेर काम गर्दा निगम रहने की नरहने अवस्था आउन सक्छ । निगम घाटामा गएर नै मूल्य वृद्धि गर्नुपरेको हो । दैनिक ७ करोड घाटामा काम गरेको छ ।’

निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था सिर्जना पनि गर्न नहुने बताउनुभयो । घाटामा रहेर काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रमो नभएको उहाँको भनाइ छ ।

दैनिक करोडौं घाटामा गइरहने हो भने निगम भन्दा पनि सरकार नै चल्न नसक्ने निर्देशक पौडेलको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धिको विषयमा सत्तारुढ दलका विद्यार्थी संगठनलेसमेत आगो लगाउने धम्की दिएको भन्दै उहाँले यस्तो अवस्थामा निगमलाई काम गर्न असहज हुने बताउनुभयो ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्यास खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताउनुभयो । उहाँले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि विद्युत प्राधिकरणले नयाँ प्राविधिक व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सचिव पोखरेलले इन्धनमा विश्वका धेरै देशमा कर महंगो नै भएको जिकिर गर्नुभयो । उहाँले मुलुकको इन्धनको आवश्यकता कति हो त्यसको करको रेट कति हुनुपर्छ सबै बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।