
काठमाडौं । प्रतिनिधिको नाममा विवाद देखिएपछि राप्रपाको एकता महाभिवेशनअन्तर्गतको निर्वाचन एक दिन पर धकेलिएको छ । राप्रपा महाधिवेनशको पूर्व निर्धारित कार्यतालिका अनुसार आज निर्वाचन हुनुपर्ने थियो ।
तर महाधिवेशनको दोस्रो दिन हिजो प्रतिनिधिको विवाद मिलाउन केही सयम लागेपछि निर्वाचन भोलि मात्रै हुने भएको हो । जिल्लाबाट आएकोभन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन गरेर टुंग्याएको छ ।
छानबिन टोलीले टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरेको छ । मतदाता नामावलीमाथिको दाबी विरोधो समय आज बिहान साढे सात बजेबाट सुरु भएको छ ।
आजै ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । राप्रपाको नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र झापाका सांसद राजेन्द्र लिङ्देन प्यानल बनाएरै चुनावमा होमिएका छन् ।
प्रतिक्रिया दिनुहोस्