
काठमाडौं । राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
आज बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् भने ४८ हजार २३९ परीक्षार्थीले ‘ए’ ग्रेड ल्याएका छन् ।
त्यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् भने ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ९९ हजार ५३७ रहेको छ ।
७५ हजार ८८ परीक्षार्थी ‘सी प्लस’, २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।
सार्वजनिक नतिजा परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।
त्यस्तै, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।
कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थीले गएको बुधबारदेखि परीक्षा दिएका छन् । बोर्डकाअनुसार ती परीक्षार्थीको नतिजा भने १० दिनभित्र प्रकाशित गरिनेछ ।
कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । नतिजा अपलाेडिङकाे काम भइरहेकाले केही समयपछि हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्