१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्ताङमा हिमपात, बेनीमा वर्षा


0
Shares

म्याग्दी । मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो ।

म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबारदेखि हल्का हिमपात सुरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।

यता म्याग्दीको गुर्जामा पनि हिमपात सुरु छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा पानी परिरहेको छ । वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ ।

मौसम प्रतिकुल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । मुस्ताङमा यो सिजनमा दोस्रो पटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित भएको छ ।

हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ ।