
काठमाडौं । लक्ष्यअनुसार खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा साढे दुई खर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । विभिन्न देश तथा दातृ निकायहरुबाट प्राप्ति नियमित भइरहे पनि खर्च हुन नसक्दा सरकारी ढुकुटीमा रकम थुप्रिन थालेको हो ।
वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला सरकारी ढुकुटीमा रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैंक र महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारी ढुकुटीमा दुई खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ ।
यसरी ढुकुटीमा रकम थुप्रिएर बस्दा आर्थिक गतिविधि चलायमान नहुने तथा अर्कातर्फ वित्तीय प्रणालीमा तरलता अभाव देखिने सरोकारवाला बताउँछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म सरकारी खातामा दुई खर्ब ३८ अर्ब ७६ करोड रुपैयाँ सञ्चिति थियो । असोज मसान्तयता हालसम्म सरकारले एक खर्ब १४ अर्ब १२ करोड रुपैयाँ प्राप्ति गरेको छ भने ८९ अर्ब ४० करोड खर्च गरेको छ । असोज मसान्तयता सरकारी खातामा २४ अर्ब ७२ करोड रुपैयाँ थपिएको देखिन्छ ।
असोज मसान्तयताको प्राप्ति र खर्चलाई मिलान गर्दा हालसम्म सरकारी खातामा दुई खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ सञ्चिति रहेको देखिन्छ । सरकारी ढुकुटीमा मौज्दात बढ्दै गए पनि सरकारी खर्चको प्रवृत्ति भने निराशाजनक रहेको छ ।
चालू आर्थिक वर्षको साढे पाँच महिना पुग्दा पुँजीगत खर्च भने ५ प्रतिशतको हाराहारीमै सीमित छ । सरकारले हालसम्म २३ अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । जुन कुल पुँजीगत बजेट चार खर्ब ३९ अर्ब ६५ करोडको ५ दशमलव २९ प्रतिशत हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस्