
संजिव कार्की
राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो महाधिवेशन गर्दैछ l नेकपा एमालेले भव्यताका साथ आफ्नो एकताको महाधिवेशन सम्पन्न गर्यो l कांग्रेस पनि प्रदेश महाधिवेशन गरेर केन्द्रिय महाधिवेशनको संघारमा छ l प्रमुख दुई ठुला पार्टी र राष्ट्रिय प्रजाततन्त्र पार्टीको समेत एकताको महाधिवेशनले देशमा राष्ट्रिय हलचल पैदा भएको छ l नेकपा माओवादीले पनि वडा र पालिका स्तरीय अधिवेशन सकेर पौष ११ देखि १३ सम्म अधिवेशन सक्ने तयारीमा जुटेको छ l
स्थानीय निकायको पूर्व सन्ध्यामा दलहरुको आफ्नो महाधिवेशनले राजनीतिलाई ग्रासरुटदेखि केन्द्रसम्म एकैपटक चलायमान गराएको सम्भवत यो पहिलोपटक हुनसक्छ ? यसरी एक दुई महिना भित्र राजनीतिक पार्टीले आफ्नो अधिवेशन एकै पटक गरेको इतिहास नै रचिदा राजनीतिमा अनेकन प्रकारका खेलहरु देखिएका छन् l कम्युनिस्ट अधिनायकवादी पृष्ठभूमिको हुनु र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सोही पृष्ठभूमिको हुनु तर बदलिदो व्यवस्थामा दुवैले आफूलाई प्रजातान्त्रिक दावी गर्नु तर व्यवहारमा फरक देखिनु निश्चय नै खोजको विषय हो l लामो समयसम्म प्रजातान्त्रिक अभ्यास गरेको र प्रजातान्त्रिक बामपन्थी देखिएको एमालेमा आन्तरिक प्रजातन्त्रको जुन बेहाल देखिएको छ त्यसले आजको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत गिज्याउने अवस्था देखियो l
केपी ओलीको पार्टीमा उनकै पार्टीका कार्यकर्ताले कम्तिमा चुनाव लड्न देऊ, चुनाव लडेर हार्न देऊ भनेर अनेकन तवरले रोइकराई अनुनयविनय, बिन्तीभाउ गर्नु पर्ने स्थिति भयो l यता अनुदारवादी पंचायतबाट दीक्षित भएर आएका कमल थापा लोकेन्द्रबहादुर चन्द, पशुपति समशेरको पार्टीमा भने आन्तरिक लोकतन्त्रमा अरुलाई पाठ पढाउने गरी अभ्यासरत देखिन्छन् l लाग्छ, राप्रपा महाधिवेशन स्थल भृकुटीमण्डपमा कुनै राष्ट्रिय उत्सव र पर्व भैरहेको छ l बिनारोकटोक बिना छिनाझम्टि उमेद्वारहरु चुनाव प्रचारप्रसार गरिरहेछन्, कसैले कसैलाई निषेध गरेको,सहमतिको नाममा चुनाव नै हुन् नदिने खेल खेलेको र प्रचार सामग्री नै जफत गरेर एकाधिकारवादी सोच र शैली कम्तिमा चुनावमा गरेको राप्रपाका कार्यकर्ताको गुनासो छैन l
पार्टी अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनको प्रतिस्पर्धा कटुतापूर्ण देखिएको छैन l एमाले कांग्रेस जस्ता पार्टीमा देखिने अस्वस्थ प्रतिस्पर्धा राजेन्द्र र कमलको हकमा न्यून देखिनु नै राप्रपाको प्रजातान्त्रिक पद्धतिलाई आचरणमा रुपान्तरण गर्ने शुभ संकेत हो l विचारमा कट्टरपन्थी हिन्दुवादी र राजसंस्था पुनर्वहालीको एजेण्डा बोक्ने दल भए पनि आज उसले देखाएको पद्धति प्रदत्त निष्ठालाई प्रशंसा गरिएन भने अधिनायकवादी सोचको समर्थन गरेको देखिन्छ अत: दक्षिण पन्थी झुकावको पार्टी भएर पनि कथित सच्चा लोकतन्त्रवादी र कम्युनिस्ट उदारवादी भन्दा राप्रपाले आफूलाई लोकतान्त्रिक देखाएको छ l आम मान्छेलाई स्पष्ट थाहा छ राप्रपा राजाको छात्रछायाँमा प्रजातान्त्रिक अभ्यास गर्न चाहन्छ र बहुल हिन्दु धर्मको बाहुल्यता भएको कारण नेपाललाई विश्वको एकमात्र हिन्दु राज्यको विशेषण भएको हिन्दुअधिराज्य नेपाल नाम राख्ने लक्ष्यमा छ l
गणतन्त्र स्थापित भइ सकेको देशमा र धर्म निरपेक्ष राष्ट्रमा यी दुवैको प्रतिकूल कल्पना गणतन्त्रवादीको लागि धर्म निरपेक्ष वादीको लागि सैद्धान्तिक आपत्तिको विषय त होला तर, घोषित र मुखर रुपमा नै आफ्नो अडान राखेर प्रस्तुत हुनु र प्रजातान्त्रिक पद्दति अबलम्बन गर्दै सो प्राप्तिको आकांक्षा राख्नु निरङ्कुश शैली होइन l प्रजातान्त्रिक आचरण नै हो l जनमतको बलमा जनताको चाह स्थापित हुन्छ भने प्रजातन्त्रवादीले त्यसलाई अस्विकार गर्न मिल्दैन l २०४७ जेठ २५ गते पूर्वका सूर्यबहादुर थापा र सुदूरपश्चिमका लोकेन्द्रबहादुर चन्द दुवै पूर्वपञ्च र पूर्व प्रधानमन्त्रीले एकै दिन एकै नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखेर राप्रपाको नाम पछाडि थापा र चन्द जोडेर बहुदलीय व्यवस्थामा आफ्नो पार्टीगत अस्तित्व देखाएका थिए l
त्यो बेलादेखि आज सम्म बिभिन्न आरोह अबरोह पार गर्दै टुट फुट बिभाजन र मेलको शृंखलाबद्ध चरण प्राप्त गरेर यहाँसम्म आईपुगेको छ राप्रपा l पाँचौ पटक बिभाजन भएको पार्टी चार पटक जोडिएको छ l lपञ्चहरुको व्यक्तित्वको टकराव नै राप्रपा बिभाजनको मूल चुरो थियो भने शक्ति क्षय हुदाँ दल चलाउन र धान्न मुश्किल पर्नु नै एकताको पहिलो र महत्वपूर्ण कारण देखिएको छ l तीन दशकदेखि प्रजातान्त्रिक अभ्यास गरेको पार्टी अब निरङ्कुश कसरी होला र बन्ला ? राप्रपाको यो महाधिवेशनले पक्कै पनि प्रजातान्त्रिक पद्धति बलियो बनाउन अर्को एक इँटा थप्नेछ l
२०७४ को संघीय र प्रदेशसभा चुनावमा खसेको मतको ३ प्रतिशत मत प्राप्त गर्न नसकेर राष्ट्रिय पार्टी बन्ने अवसर गुमाएको राप्रपा अबको चुनावमा राष्ट्रिय पार्टी बन्ने कसरतमा छ l जसको लागि एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चुनेर राप्रपा अगाडि बढ्ने चुनौती छ l राप्रपामा नयाँ पुस्तालाई कसरी आकर्षित गर्ने र संधै पुराना पञ्चको पार्टी भनेर लागेको आक्षेपबाट मुक्त बन्ने दुई मुख्य चुनौती छन् भने राजनीतिक दल ठुलो बनाउने र चुनाव जित्ने अभिलाषा हरेक दलको हुने नै भयो l
२०५१ सालमा संसदमा १८ प्रतिशत मत प्राप्त गरेर १९ सिट जित्दै तेश्रो ठुलो दल भएको राप्रपा तत्कालिन संसदमा सबैभन्दा शक्तिशाली दल बनेर कांग्रेस कम्युनिस्टलाई अधिनस्त गरेर सरकारमा बसेका थियो l आफ्ना दुई संस्थापक नेतालाई प्रधानमन्त्री बनाउन सफल भयो l २०७० सालको संविधान सभाको चुनावमा २५ सिट लिएर संसदमा राप्रपा बस्न पायो भने कमल थापा ओली सरकारको उपप्रधानमन्त्री समेत बन्न भ्याए l स्थापनाको ३१ वर्षमा सत्ताको स्वाद र पार्टी एकता बिखण्डनको चरणबाट गुज्रिएको राप्रपा पून शक्ति आर्जन गर्न एकताबद्द भएर जानु अपरिहार्य छ l जसको लागि नेतृत्व परिवर्तन यसको पहिलो प्रस्थान विन्दु हुनेछ l
२०७४ को चुनावमा संघीय संसदमा एक मात्र सिट जित्ने माननीय राजेन्द्र लिङ्देन र पार्टीमा संधै उपल्लो स्तरमा बस्दै आएका र हाल अध्यक्ष रहेका कमल थापा बिच केन्द्रिय अधिवेशनमा चर्को प्रतिस्पर्धा देखिएको छ l कमला थापा नेतृत्वमा धेरै पहिले देखि बसेको र पूर्व पश्चिम सर्वत्र पहुँच र संगठन बिस्तारमा पुरानो परिचयका कारण बलियो मान्नेहरु पनि छन् l यता राजेन्द्र लिङ्देन नयाँ पुस्ताको र आफ्नो प्रचार र क्षेत्र बिस्तार गर्न नसकेको मद्येश र पश्चिमका जिल्लामा प्रभाव नभएको एक थरिको विश्लेषण पनि छ तसर्थ कमल भन्दा राजेन्द्र कमजोर छन् भन्ने आंकलन पनि देखिन्छ l
राजेन्द्र लिङ्देनलाई साथ दिने डाक्टर धवल शमशेर, बिक्रम पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनीको कारण र युवा आकर्षणको कारण पनि लिंङ्गदेन राप्रपाको सम्भावित पार्टी अध्यक्ष देखिन्छ्न l पुरानोलाई पालो दिन र नयाँ नेतृत्व सर्वत्र अरु पार्टीमा पनि परिवर्तन गर्न राप्रपाको सन्देश हुनेछ l परिक्षणमा खरो उत्रन नसकेका र पटक पटक परिक्षित कमल थापा भन्दा केन्द्रिय मूल नेतृत्वमा परिक्षित हुन् बाँकी राजेन्द्र पक्कै पनि राप्रपाको स्वाभाविक हकदार हुन् l युवा विद्यार्थी संगठनको केन्द्रिय अध्यक्ष, दुई पटक स्थानीय चुनावमा गाबिस अध्यक्ष, जिल्ला विकास समितिको सभापति र माननीय सांसद राजेन्द्रका राजकीय अनुभव हुन् l एउटा जनजातिको छोरो पार्टीको मूल केन्द्रमा स्थापित भएको देख्न चाहने रहर राप्रपाको नेताकार्यकर्ता र इतर पक्षको पनि भित्री चाह हो आकर्षण हो l
पुराना पुस्ताका लोहनी राणाको विश्वास र साथ अनि आफ्नो क्रियाशील व्यक्तित्व राजेन्द्रको चुनाव जित्ने आधार देखिन्छ l हिन्दुअधिरज्यको नारा बिर्सजन गरेर संविधान सभाबाट बन्ने संविधानमा सही गरेको र शक्तिको मोहले ओली सत्तामा गएर आफ्नो मौलिक अस्तित्वलाई तिलान्जली दिएको आरोप नै कमल थापा पराजयको कारण बन्ने विश्लेषकहरुको अनुमान छ l यद्दपि राप्रपाका सार्व भौम प्रतिनिधिले जसलाई विश्वास गर्छन उही हो सो दलको अध्यक्ष l अध्यक्ष लगायत ४ उपाध्यक्ष, ३ महामन्त्री,र १४१ जना केन्द्रीय सदस्यको भाग्यको फैसला आज हुनेछ l स्मरणीय के छ भने राप्रपाले पनि चुनावी दस्तुर अत्यन्तै महँगो तोकेको छ l यसको मतलव हो राप्रपा पनि सामान्य आर्थिक स्थिति हुने नेपालीले नेतृत्व गर्ने अवसर पाउने पार्टी होइन भन्ने देखिन्छ l कांग्रेस महाधिवेशनमा चुनाव दस्तुर महँगो भएको चर्चा र व्यापक बिरोध हुँदा पनि राप्रपाको ध्यान पुग्न नसक्नु दु:खद पक्ष हो l
प्रतिक्रिया दिनुहोस्