
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।
प्रदेशअन्तर्गतको लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मतदान सुरु भएको छ । यस्तै, प्रदेश १ कांग्रेस अधिवेशनको मतदान सरेको छ ।
नयाँ नेतृत्व चयनका लागि लुम्बिनी प्रदेशमा आज बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् । संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।
त्यस्तै, सुदूरपश्चिममा पनि मतदान सुरु भएको छ । बिहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् ।
बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ ।
यस्तै, प्रदेश १ को मतदान अझै सुरु भएको छैन । मतपत्रमा भएको त्रुटिले गर्दा मतदानको समय सरेको छ । सदस्यको उम्मेदवारी दिएका श्याम खड्की, शान्तिकला तामाङ राई, जीवन नेपालीको नाम मतदाता सूचीमा नभेटेपछि मतदान समय पछि सरेको हो । निर्वाचन समितिले त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मतदान थाल्ने बताएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १ नं प्रदेश सभापतिमा संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्वको लागि सुरु भएको अधिवेशनमा पौडेल–कोइराला समूहबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापा प्रदेश सभापतिमा उम्मेदवारी दर्ता भएको हो । प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला देउवा समूहसँग मिलेको छ ।
यसैगरी, बागमति प्रदेशमा भने मतदान समय अन्यौलमा रहेको छ । कमजोर व्यवस्थापनका कारण मतदान कार्य ढिलो भएको भन्दै कार्यकर्ताहरु मतदान स्थलको मूल गेटमै नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्