
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व समुदाय आतंकित छ । सरकारले विभिन्न देशबाट नेपालसँगको हवाई यातायात विच्छेदको निर्णय गरिसकेको छ ।
नेपालसँग आउजाउको हिसाब नरहने मुलुक भारतमा स्वास्थ्य सतर्कता बढाइरहँदा यहाँ भने राजनीतिक दलहरू हजारौं मानिसको भीड जम्मा गरेर लोकतन्त्रको बहसमा उत्रिरहेका छन् । अचम्म त के छ भने दलका नेता कार्यकर्तालाई यसतर्फ सोच्ने फुर्सद समेत छैन ।
यो राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व छान्न आएका कार्यकर्ताहरुको प्रतिनिधि आवाज हो । कांग्रेस, एमाले हुन या माओवादी सबैमा संस्कार र बोली समान छ । कार्यकर्ताहरूमा दलीय स्वार्थ र नेताहरूको निर्देशनबाहेक अरु विषयमा सोच्ने फुर्सद छैन ।
नेताहरू सार्वजनिक थलोमा उभिने खबर पाउनासाथ माला र खादा लिएर भीड जम्मा हुनुलाई राजनीतिक समर्पण ठान्ने प्रचलन छ । एमालेले नारायणी नदी किनारमा लाखौं मानिस जम्मा गरेर त्यसलाई शक्ति प्रदर्शनका रूपमा व्याख्या गर्यो । सबै दलका शीर्ष नेता भेला भएर लोकतन्त्रको मर्यादाका विषयमा भाषण गरे ।
देशका व्यवस्थापक मानिने नेताहरूले जनताको स्वास्थ्यका विषयमा एक वचन बोलेनन् । त्यसो त उनीहरूको हरेक अभिव्यक्तिले देशको भविष्यसँग जोडिएको हुन्छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूले भौतिक दूरीको सन्तुलन कोभिडबाट बच्ने पहिलो र अन्तिम मूलमन्त्र भनेर सचेत गर्ने गरेका छन् । तर, जनताको सुरक्षा गर्ने जिम्मेवारी लिएका नेताहरू भने भीडभाड गर्नु उचित नभए पनि महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको राप्रपाका नेता ध्रुवबहादुर प्रधान बताउनुहुन्छ ।
एमालेबाट सुरु भएको महाधिवेशनको भीडभाड एक महिनाभित्र राप्रपा, कांग्रेस हुँदै माओवादीसम्म आयतन बढ्दैछ । महाधिवेशन सफलताका लागि भेला भएकाहरू दूरी कायम गर्न त परै जाओस, एउटा मास्क भिर्न पनि जरुरी ठान्दैनन ।
मञ्चमा बाक्लो उपस्थितिमा रमाएका नेताहरूमा पनि स्वास्थ्यचेत देखिदैन । महाधिवेशनका नाममा देखिने लापरबाहीको यो भद्दा दृश्यले विपत्तिको बाटो खोल्यो भने त्यसको जिम्मेवारी कसले लिने ?
प्रतिक्रिया दिनुहोस्