१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस रुपान्तरण गर्नसक्ने उम्मेदवारलाई छानी-छानी मतदान गरेँ : रामचन्द्र पौडेल

गण्डकीमा मतदान सकियो, मतगणना केहीबेरमा सुरु हुने

0
Shares

प्रदीप पौडेल
पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रुपान्तण गर्नसक्ने उम्मेदवारलाई मतदान गरेको बताउनुभएको छ ।

पार्टीको १४औं महाधिवेशन अन्तर्गत पोखरामा जारी प्रदेश अधिवेशनमा मतदान गरेपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले पार्टी रूपान्तरण गर्नसक्ने उम्मेदवार खोजी–खोजी मतदान गरेको प्रतिक्रिया दिनुभयो ।

‘मतदान गर्दा आत्मालाई साक्षी राखेर नेपाली कांग्रेसको भलो, रूपान्तरण गर्न जुन उम्मेदवारबाट विश्वास र भरोसा लिएको छु, तिनै उम्मेदवारको नाम खोजी–खोजी चिन्ह लगाएँ’, मतदानपछि उहाँले भन्नुभयो ।

फरक प्रसंगमा पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने टुंगो नलागेको भन्दै काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्ने बताउनुभयो ।

सभापति लगायत पदाधिकारीका लागि नेताहरूबीच सहमति नभएको भन्ने सञ्चारकर्मीका प्रश्नमा उहाँले उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमति हुने जवाफ दिनुभयो ।

गण्डकी सभापतिमा बरिष्ठ नेता पौडेल समूहबाट कांग्रेस कास्कीका पूर्वसभापति शुक्रराज शर्माको एउटा प्यानल छ भने सभापति शेरबहादुर देउवाको प्यानलबाट अर्जुन जोशीको नेतृत्वमा अर्को प्यानल छ ।

संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत, महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी छन् । सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवार छन् ।

प्रदेश अधिवेशनमा मतदान सकिएको छ भने अब केहीबेरपछि नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।