१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जवाद’ चक्रवातको प्रभाव : सोमबारसम्म यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात


0
Shares

काठमाडौं । बङ्गालको खाडीको मध्य पश्चिम भूभागमा गए राति विकसित भएको ‘जवाद’ नामक सामुद्रिक चक्रवातले नेपालको मौसममा पनि प्रभाव पारेको छ ।

‘जवाद’ चक्रवात शनिबार विहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसको नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार रातिबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना पनि रहेको छ ।