
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिनुभयो ।
अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको पनि दोहो¥याउनुभयो । उहाँले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काइदिएको बताउनुभयो । उहाँले अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले अघिल्लो पटक नेपाललाई भूजडित देशको रूपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दावीसमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्