
पेशल आचार्य
समयको रफ्तारमा मानिस होस् या संघसंस्था सबैले आफ्नो यात्रालाई व्यवस्थित रूपले अघि बढाउन जानेनन् भने ती समयक्रममा आउट्डेटेट हुन बेर लाग्दैनन् । यो सन्दर्भ अहिले नेपालको प्रमुख राजनीतिक पार्टी एमालेका हकमा सोरै आना लागू भएको छ ।
उसले हालै चितवनको नारायणी नदी किनारमा गरेको दसौं महाधिवेशन अवसरमा पाँच लाख मानिसको भीड उतार्ने जुन हल्ला गर्यो त्यो उपस्थिति उद्घाटन सत्रमा कामयाब देखियो । सहभागीहरूको फोटा र जनलहरले सो कुरा प्रमाणित गरेकाले मान्छे जुटाउने मामलामा माहिर एमालेले सफलता पाएको बुझियो ।
यद्यपि पश्चिम नेपालबाट धेरै पाका मानिसहरूलाई देवघाट दर्शन गर्न लैजाने भनेर समेत ल्याएको रहेछ । खैर ! त्यो उसको कुरा भयो । उसो त महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचन आयोगको धज्जी उडाउँदै १८ जना निजामति कर्मचारी र १५२ जना शिक्षकहरूले समेत भाग लिएका रहेछन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि लिएर स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालका लेखापाल समेत प्रतिनिधिका रूपमा गएको बुझियो । नेपालको कानुन फितलो भएको फाइदा निजामति कर्मचारी र शिक्षकहरूले उठाइरहेका छन् । सरकारी जागिरे भएर कुत्सित व्यक्तिगत फाइदाका लागि पार्टीको ‘हनुमानगिरी’ गर्ने महारोग ठालु पार्टीहरू एमालेमा मात्र नभएर काँग्रेस, माओवादी र जसपामा समेत डरलाग्दो गरी देखिएको छ ।
कमरेड माधव नेपाल एण्ड कम्पनी नेकपा एस्को नाममा फुटेर गएपछि एमालेका लागि यो महाधिवेशन यो रूपले सम्पन्न गर्नु उसको इज्जतको सबाल थियो । उसको सहभागीहरूको भीड देखेर प्रतिस्पर्धी राजनीतिक दलहरूले आश्चर्यको जिब्रो समेत टोकेका छन् ।
मुलुकमा यतिखेर एमाले प्रतिपक्षी दलको भूमिकामा खुम्चिन बाध्य छ । उसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीले आफ्नो कार्यकालभरि देखाएको लगभग ‘दम्भीय भूमिका’ र ‘वान् मेन आर्मी’ शैलीकै कारण नेकपाबाट अलग्गिएको एमालेले प्रदेशीय ६ र केन्द्रीय १ गरी ७ सरकारबाट विना बिच्चमा हात धुनुपर्यो ।
यता ‘ओली बा’ बार्दलीमा उभिएर गजलका गैह्र अन्त्यानुप्रासीय सेर सुनाउँदै थिए भने उता उनका पार्टीकै ‘मानस पुत्रहरू’ आ-आफ्ना लाभका पदहरूबाट क्रमशः हात धुँदै थिए ।
भनिन्छ –‘भारतीय हिन्दू विचारक बल्लभ भाइ पटेलको सोचानुसार वर्तमान प्रम मोदीले दक्षिण एसियाको राजनीतिलाई हिन्दू धर्मका नाममा गरिएको गेम प्लानको माकुरे जालमा पार्न चालेको माइक्रो मेनेजमेन्ट पोलिटिक्समा नेपालका ‘ओलीको ओलीटिक्स’ सत्तामा तीन वर्ष बढी टिक्न सकेन । अन्ततोगत्वा गोयलको परिभ्रमणपछि ओली जानी नजानी फसेकै हुन् ।’ दन्त्यकथाको बाँदरले उपध्रो गर्ने क्रममा काठ चिर्ने धरानमा राखेको काठको फेसो फुस्काउँदा राजखानी चेपिएर मरेको कथाजस्तो दुखान्त !
राजनीतिक कुराको गुत्थी के हो के होइन ? त्यो समयले बताउँदै जाला । त्यसै ओलीले चितवन अयोध्यापुरीमा भगवान् रामको पहेली जोडेका होइनन् होलान् । कसको कतिखेर कहाँ कनेक्सन हुँदो रहेछ त्यो केही बुझेर बुझिनसक्नु हुने रहेछ । बुझ्नेहरू अहिले रानजीतिलाई यसरी समेत विश्लेषण गर्न रूचाउँछन् ।
नेकपा सत्तामा सिँहझैँ विराजमान हुँदा लगभग भिजेको मुसो भाँतीमा देखिएको प्रतिपक्षी काँग्रेसले यो पाँच वर्षमा आफू सरकारमा जाने कुनै सपना नै सँगालेको थिएन । यसै पनि उसका सांसदहरू पार्लियामेन्टमा आउँथे र चुपलागेर प्रधानमन्त्रीका सर्वविज्ञ भाषण सुनेर क्लान्त भएर घर फिर्थे ।
कहिलेकाहीँ बौद्धिक सांंसदद्वय प्रदीप गिरी र गगन थापाले दिने प्रत्युत्तर भाषण संसदमा सुन्नलायक पहेली बन्थे जसले यु ट्युबमा समेत राम्रै स्पेस पाएर व्यापार बजाएका थिए ।
यो २०७८ साल चाहिँ अधिवेशनमय वर्ष रहेको रहेछ । एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रापा र एमालेलाई एजेन्डाले एक ठाउँमा ल्याउन सक्छ’ भन्ने कुरा राप्रपाको अधिवेशनमा भनेका छन् ।
सोही मञ्चबाट नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सम्वत् २०४६ साल यताको परिवर्तनपछि राष्ट्रवादी नेताहरू एउटा पनि नभएका भन्ने बताए भने सोही समारोहमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सीपी मैनालीको मुह तोड जवाफ दिन भ्याए ।
सो राप्रपा अधिवेशन समारोहमा सीपी हिरो भए भने एमाले उपाध्यक्ष ईश्वर विवादमा आए । ‘प्रकारान्तरमा एमाले र राप्रपा आउने भनेको एउटै ठाउँमा हो’ यिनीहरूको वर्तमान कार्यशैली लगभग उस्तैउस्तै हुन लागेको पुराना राजनीतिक विश्लेषकहरू नै बताउँछन् ।
‘नेपालका राजनीतिक दलमा महाधिवेशन प्रतिनिधिले न हराउँछन्, न जिताउँछन् मूल नेताको लिष्टले हराउँछ/जिताउँछ । लिष्टमा परे झारपातले जित्छ, लिष्टमा नपरे हिरामोतिले पनि हार्छन् । गुटगत आधारमा छानिएका प्रतिनिधि र गुट नेताको ह्वीपप्रति प्रतिबद्ध हुन्छन् । उनीहरूको स्वतन्त्र विवेक र छनोट हुँदैन । मैले त यो एमालेको छैँठौं महाधिवेशनदेखि नै देखेको/भोगेको । जुन दिन यो प्रवृत्ति अन्त्य होला, त्यो दिन मात्रै साँचो अन्तरपार्टी लोकतन्त्रको सुरुआत होला । यो प्रवृत्ति अन्त्य गर्न दलहरूभित्र प्रत्यक्ष लोकतन्त्र र पार्टी सदस्य नै मतदाता हुने संवैधानिक व्यवस्थको जरूरी छ ।’ जसपा केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक डम्मर खतिवडा सटिक विश्लेषण गर्छन् ।
चितवन महाधिवेशनमा पर्यटकीय सहर सौराहाले करिब १० दिनको समयमा दसौं करोडको बेपार गरेको, यो बीचमा भियाग्रा र परिवार नियोजनका अस्थायी साधनहरूको अभाव रहेको कुरा समाचार बनेर भाइरल भएको थियो ।
एमालेका पुराना राजनीतिक कार्यकर्ता भन्छन्, ‘एमाले बिगार्ने ओली होइनन्, ओलीका हनुमानहरू हुन् । नारायणी किनारमा दाहसंस्कार गरिएको जबजले सायुज्य मुक्ति प्राप्त गरोस् ।’ यो अभिव्यक्तिमा एमालेको कम्ति पीडा लुकेको छैन !
त्यस्तै नारायणी नदीको कुम्भ मेला हेर्न गएका तर चुनाव नहुने भएर भीम रावललाई बन्द सत्रमै हुटिङ् गरेपछि घर फर्र्किएका एमाले कार्यकर्ता झम्क कडेँल – ‘कथनी : लोकतान्त्रीकरण, करनी : तानाशाहीकरण’ भन्दै फेसबुकमा तीतो पोख्छन् ।
विश्लेषक डम्मर खतिवडाले भनेझैँ जबसम्म ठालु पार्टीका अध्यक्ष वा सभापतिहरूले आफ्ना गोजीका मान्छेहरूको नामलिष्ट बन्दसत्रमा पढ्ने प्रथा अन्त्य हुँदैन तबसम्म तीती पार्टीहरूमा हुने भनिएको इतरपार्टी लोकतन्त्रले व्यवहारिक रूपमै मूर्तरूप लिँदैन ।
यो कुरा एमालेका सिद्धान्तकार जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तमा उल्लेख छ । यसपटक गरिएको अभ्यासले मदनको सपना मात्र नभएर विचारको समेत धज्जी उडाएको कुरा तिनै कार्यकर्ताले दुःख मान्दै भने । यो अवस्थामा कतिपय कार्यकर्ताहरू गहिरो पीडामा रहेका रहेछन् भनेर भीम रावल कमरेडले पाएको मतबाटै स्पष्ट हुन्छ ।
पाका प्रगतिशील पत्रकार नरेन्द्रजङ्ग पिटर लेख्छन्, ‘एमालेको दसौं महाधिवेशनमा महाधिवेशन शब्दकै उपहास भएको छ । त्यहाँ गाइडेड डेमोक्रेसीको अभ्यास भएको पाइयो । शक्ति केन्द्रीकरणको जुन भद्दा अभ्यास भयो यसको प्रभाव नेपाली काँग्रेस, माओवादी नेकपा एस, राप्रपा र मधेशवादीमा मात्रै नभै अन्य संघसंस्थामा टड्कारो रूपले पर्ने निश्चित छ । शक्ति केन्द्रीकरणले नेपाली राजनीतिमा पार्ने नकारात्मक र गम्भीर प्रभाव, भीडको मनोविज्ञान र आवेगी राजनीति हावी, आलोचनात्मक चेतको निषेध । अब आफ्नै गुटभित्रका भिन्न सोचको छिमल अभियान नचलाए पार्टी क्रमशः धराशायी बन्ने देखियो । आश र त्रास दोखाएर संगठन गर्ने अभ्यासको थालनी गरियो जुन शोभनीय छँदै छैन । अन्ततोगत्वा सामान्य सुनामीले धरहराको पतन हुने देखियो । उफ ! सबै कम्युनिष्टको नाममा घोर दक्षिणपन्थको यात्रा आरम्भ भयो । हेर्दाहेर्दै भाउजू राँडी भइन् भने दोष कम्युनिष्ट आन्दोलनलाई हुने भयो !’
यस्तो अवस्था आउनुमा पार्टीभित्र आलोचनात्मक चेत र संस्कारको विकास नहुनु, आदर्शको राजनीतिलाई सबै तहतप्काका नेताहरूले छाड्नु प्रमुख कारक रहेको बताइन्छ । इटहरीका वरिष्ठ पत्रकार कृष्ण अधिकारी भन्दछन्, ‘नेपालमा कम्युनिष्ट ? कम्युनिष्ट त पुस्तक र दस्तावेजमा मात्रै हो, यी सरकार र सडकमा देखिएकाहरू त कम्युनिष्टको मुखुण्डो लगाएका पूँजीवादीहरू हुन् ।’
यो भनाइलाई हिजो नेकपाका नेताहरूले होलीवाइन खाएको, ओलीका विकासे गफसँगै राजधानीका पोलपोलमा ओलीको पोष्टर टाँगेको र एकातिर उखु किसानहरू माइतीघरमा न्यायका लागि भिख माग्दैगर्दा अर्कातिर दरबारअघि ‘साउथ हिन्दी मुभी’का पुत्लाजस्ता यमानका होर्डिङ्बोर्ड बनाएर बनाएर माओवादी र एमालेबीच भएको दन्तबझानलाई सुन्दा नेपालमा अब कम्युनिष्टहरू बाघको छाला ओडेका ब्वाँसा बन्दै गएको तथ्य भुल्न नहुने तर्क पत्रकार अधिकारीले गरे ।
सुखानी र पिश्करका ती पाँच महान् सहिदहरूको रगत जगमा उभिएको एमाले प्रकारान्तरले वामपन्थी, दामपन्थी हुँदै दक्षिणपन्थी भासमा डुब्नका लागि ‘रामपन्थी’ बन्दै गएको कारणले अधिकांश नैष्ठिक, इमान्दार र सफरर कार्यकर्ताहरूले अब जताततै दुःख प्रकट गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्