१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भोकमरीको दुईसातापछि हुम्लामा खाद्यान्न वितरण


0
Shares

काठमाडौं । खाद्यान्य समस्या भोगिरहेको हुम्लाको नाम्खा गाउँपालिका लिमीका वासिन्दालाई दुई साता पछि खाद्यान्न वितरण गर्न थालिएको छ ।

हेलिकप्टरबाट ढुवानी गरिएको खाद्यान्न लिमीका तीन वटा गाउँका एक सय ४७ घरधुरीलाइ वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १ सय २५ किलो मैदा र २५ किलो चामल गरी डेढ क्विन्टल खाद्यान्न बाँडिएको छ ।

लिमी पुगेको २ सय ३५ क्विन्टल खाद्यान्नमध्ये ३५ क्विन्टल सिमकोटबाट र २०० क्विन्टल हिल्साबाट लगिएको थियो । खाद्यान्न ढुवानीका लागि हेलिकप्टरले १६ वटा उडान भरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।

लिमीका लागि छुट्याइएको २ सय ६० क्विन्टल खाद्यान्न हिल्सामै राखिएको छ । चालू आर्थिक वर्षबाट लिमीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको बिक्री केन्द्र स्थापना भएर ५ सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको भए पनि हालसम्म ढुवानी हुन सकेको छैन ।