
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४औं महाधिवेशन तयारीसम्बन्धी उपसमितिका संयोजकहरूसँग ब्रिफिङ लिनुभएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समितिअन्तर्गत रहेका उपसमितिका संयोजकहरूले अहिलेसम्म भएका तयारी तथा प्रगतिबारे सभापति देउवालाई जानकारी गराउनुभएको थियो ।
बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति, प्रचार–प्रसार उपसमिति, आवास उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, विदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरूले आफ्नो तयारी सम्बन्धी प्रगति सुनाएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने जानकारी दिनुभयो । महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।
प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २ सय ९३ वटा मतदान बुथ र एक हजारवटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिनुभयो ।
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्