
गर्भधारण को छ महिनामा बच्चाले हातखुट्टा चलाउने, पल्टिने र बाडुल्की लिने हुनाले बच्चाको क्रियाकलाप आमाले आफूभित्र महसुस गर्छिन् । तर के बच्चा पेट भित्र रुन्छ ? यो प्रश्न भने धेरैको मनमा आएको वा नआएर पनि अनुत्तरित भएको हुनसक्दछ ।
सन् २००५ मा गरिएको भ्रुण परीक्षणले बच्चा पेटभित्र रोएको महसुस आमाले गर्न नसक्ने निष्कर्ष निकालेको छ । डाक्टर र वैज्ञानिकहरुको दाबीलाई मान्ने हो भने बच्चा आमाको गर्भबाट निस्कनुपूर्व नै रुन सुरु गर्छ । अध्ययनको क्रममा गरिएको अल्ट्रासाउण्डमा बच्चा फरक–फरक किसिमको भाव दिँदै गरेको देखिएको थियो ।

३३ हप्ताको गर्भमा गरिएको अल्ट्रासाउण्डको दृश्यमा बच्चा रोइरहेको देखिने विशेषज्ञहरूले बताएका छन् । अनुसन्धानमा सहभागी डाक्टर र वैज्ञानिकहरूले गर्भमा रहेको बच्चालाई कम्पन र ध्वनीको संकेत दिएका थिए । कम्पन र ध्वनी महसुस गरेपछि बच्चाले जिब्रो फराकिलो बनाउँदै तीनपटकसम्म लामो श्वास फेरेको थियो । साथै हातले चिउडो छोएर टाउकोलाई पछाडि लगेको थियो ।
डाक्टर र वैज्ञानिकको समूहले करिव ६० बच्चालाई संकेत दिँदा १० बच्चाले यस्तो क्रिया देखाएको थियो । बच्चा रोएको अवस्थामा यस्तो क्रिया हुने उनीहरूको दाबी छ । इङल्याण्डको डरहम विश्वविद्यालयकी डेभलपमेन्ट साइकोलोजिस्ट नाद्जा रिस्ल्याण्डले हालसालै यहि प्रक्रियालाई दोहो¥याएकी थिइन् । मान्छे धेरै भावुक हुँदा यस्तो क्रिया दोहोरिने उनीहरूको अध्ययनको निष्कर्ष छ ।
बच्चाको अनुहारमा २४ देखि ३५ हप्तामा यस्ता भावहरू देखिन सुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्