
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनु भएका शाहीले कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।
कर्णाली प्रदेशको भुगोल कोटाबाट उम्मेदवारी दिने शाहीले बताउनुभयो । शाही यसअघिका महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय सदस्य भइसक्नु भएको छ ।
उहाँ कांग्रेस हुम्लाको संस्थापक सभापति हुनुहुन्छ । शाही २२ वर्षको उमेरमा कांग्रेसको हुम्लाको पहिलो सभापति बन्नु भएको थियो ।
त्यस्तै, २६ वर्ष लगातार जिल्ला सभापति भएर काम गर्नु भएका शाही ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य हुनु भएको थियो ।
०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनबाट सांसद निर्वाचित हुनुभएका शाही ०७४ मा प्रदेश सांसद हुनु भएको थियो ।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ । मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्