
सुरेन्द्र भण्डारी/शंकर खनाल
झापा । तत्कालिन राजनीतिक विद्रोहको आधारभूमि रहेको झापा पछिल्लो समय केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित हुँदै आएको छ ।
समकालीन राजनीतिमा झापाबाट प्रतिनिधित्व गर्ने नेताहरूले छिट्फुटबाहेक देशको केन्द्रीय राजनीतिमा वर्चस्व जमाउँदै आएका छन् । २००७ देखि २०६२÷०६३ को राजनीतिक परिवर्तनसम्म झापाको भूमिका अग्रमोर्चामा रहेको छ ।
झापा विद्रोहको कर्मभूमि हो । यहि कर्मभूमिबाट उदाएका नेता र नेतृत्वले अहिलेसम्म आफ्नो राजनीतिक कौशललाई कायमै राखेको देखिन्छ । २००७ सालमा राणा आन्दोलनदेखि पञ्चायतको किसान र दुई वटा जनआन्दोलनमा झापा केन्द्रमा नै रह्यो ।
शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा पनि झापाली नेतृत्वले पकड जमाइरहेको देखिन्छ । केही समय अगाडि मात्र मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः केपी शर्मा ओली निर्वाचित भएपछि झापाले आफ्नो राजनीतिक अगुवाइलाई निरन्तरता दिएको छ ।
यसैगरी मूलधारको अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि देशको राजनीतिक नेतृत्वको मूल मियोको रूपमा झापा स्थापित भए झैँ देखिन्छ ।
घाम पूर्वबाट उदाउँछ भने झैँ राजनीतिक नेतृत्वले पनि यहि संकेत देखाएको छ । अझ एमालेभन्दा अगाडि नेकपा मालेको महासचिवमा सिपी मैनाली निर्वाचित भएर नेतृत्व गरी सक्नुभएको छ । नेतृत्वमा पुग्ने तीन जना नेता नै झापाली हुनुहुन्छ ।
अझ पछिल्लो समय राप्रपामा कमल थापालाई हराउँदै लिङ्देनले अध्यक्ष जितेपछि झापा नेतृत्वको चर्चा झनै चुलिएको छ । नेपाली कांग्रेसमा पनि कृष्णप्रसाद सिटौलाले झापाको नेतृत्व गर्दे आउनुभएको छ । अर्का नेता विश्वप्रकाश शर्मा पनि कम हुनुहुन्न ।
प्रदेश नम्बर १ मा सभापतिमा आफूपक्षीय नेता उद्धव थापालाई सभापतिमा जिताएर आफ्नो शक्ति देखाएका सिटौलाले महाधिवेशनमा पनि यसैगरी छलाङ मार्नुभयो भने झापाले नेपाली राजनीतिक नेतृत्व नै कब्जा गर्ने देखिन्छ ।
त्यसो त एमाले, नेपाली कांग्रेसबाट पनि नेतृत्व पंक्तिमा ठूलो समूह अगाडि आइरहेको छ । एमाले महाधिवेशनबाट मात्रै केन्द्रीय नेतृत्वमा १३ जना निर्वाचित भइसकेका छन् । यी अगाडी भएका निर्वाचन, हुन लागेको निवार्चन र आएका जल्दाबल्दा नेतृत्वले के संकेत गर्छ भने अझै पनि झापाले केहि समय नेपाली राजनीति र नेतृत्वमा अगुवाइ गरिरहने छ ।
प्रतिक्रिया दिनुहोस्