
रुपन्देही । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो ।
उहाँले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायत अन्य नाकामा पनि सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको बताउनुभयो । बेलहिया नाकाबाट भारतलगायत, अष्टे«लिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र संकास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा एन्टिजोेन परीक्षण गर्दा पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ । ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५ सय ५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्