
काठमाडौं । नेपालमा हालसम्म ८७ लाख भन्दा बढीले कोरोनाको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् ।
यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३०४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्ध मोडेर्ना खोप लगाउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अनुसार आगामी हप्तादेखि बालबालिकालाई मोडेर्ना खोप लगाउने तयारी अघि बढेको छ । तत्काल १० लाख डोज मोडेर्ना खोप आउने र जनवरी महिनाभित्र थप ४० लाख डोज माडर्ना खोप प्राप्त हुने बताइएको छ । खोप प्राप्त भएसँगै अन्य जिल्लामा पनि बालबालिकालाई खोप अभियान सञ्चालन हुने महाशाखाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्