
काठमाडौं । हिजो (सोमबार) सुधारिएको शेयर बजारमा आज (मंगलबार) पुनः उच्च अंकको गिरावट आएको छ ।
तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ३७ अंकले ओरालो लागेर २५ सय ८ मा आएर थामियो । आज पनि कारोबार सुरु हुँदा नेप्से सकारात्मक रहेको थियो ।
पहिलो एक घण्टा उच्च दरले उकालो लागेर २६ सय नजिक पुगे पनि बृद्धि टिक्न सकेन र विस्तारै उतार चढाव हुँदै नेप्से ३७ अंकले ऋणात्मक रहेर थामिएको हो ।
यस दिन कारोबार पनि खुम्चियो । हिजो साढें ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब हाराहारीमा सीमित भएको हो । व्यापार र सामूहिक लगानी कोष बाहेक अरु सबै समूह ओरालो लागे ।
विकास बैंक र निर्जीबन बीमा समूहमा डेढ सय अंक हाराहारीको गिरावट आउँदा अरु पनि सबैजसो समूह दोहोरो अंकले ओरालो लागे । नेपाल स्टक एक्सचेन्जमा २ सय ३१ कम्पनीको ८३ लाख ३० हजार कित्ता शेयर ३ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यसदिन १ सय ६० कम्पनीको मूल्य घट्दा जम्मा २६ कम्पनीको बढ्यो भने ३ को स्थिर रहेको पनि एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्