
काठमाडौं । कोरोनाको ओमिक्रोनका संक्रमित काठमाडौंमै फेला परे पनि अहिले नै लकडाउन गर्नेबारे तयारी नगरेको प्रशासनले जनाएको छ ।
काठमाडौंका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सावधानी अपनाए पनि उपत्यकामै ओमिक्रोनका संक्रमित भेटिनुलाई आफूहरूले गम्भीर रूपमा लिएको बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर पूर्वतयारी र पूर्वसावधानीका उपायका बारेमा छलफल गर्ने बताउनुभयो ।
विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय संक्रमणको अवस्थाले निर्धारण गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले स्पष्ट पार्नुभयो ।
कोरोना महामारी सुरु भएयता नियन्त्रण र रोकथामका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एकैसाथ विभिन्न प्रतिबन्धात्मक कार्यहरु गर्दै आएका छन् ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्