
काठमाडौं । नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ ।
परिसंघले मंगलबार पत्रकार सम्मलेन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गर्नुभएको थियो ।
यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरू आवद्ध भएका छन् । ती कम्पनीहरूबाट उत्पादन हुने वस्तु तथा सेवाहरूमा स्वदेशी अभियानको लोगो हुनेछ । अध्यक्ष विष्णु कुमार अग्रवालले अभियानले उत्पादनमूलक अर्थतन्त्रका साथै मुलुकभित्र रोजगारी र पूँजी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूहरू उद्योगमैत्री वातावरणका लागि काम गरिरहेको बताउनुभयो ।
त्यसका लागि हालसम्म ३४ वटा समूहहरु पहिचान गरेको र जसमध्ये १० वटामा यही बर्षदेखि काम सुरु गर्ने जानकारी उहाँले दिनुभयो । पूर्वाधारसँग सम्बन्धी काम सुरु भई अघि बढिसकेको बताउदैं सरोकावाला निकाय तथा विज्ञहरूसँगको छलफलपछि काम अगाडि बढाउने समेत बताउनुभयो ।
अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस्तै, कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु–याउने दाबी गरिएको छ । साथै, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गरी पाँच वर्षमा वार्षिक निर्यात ४ दशमलव ३ अर्ब डलर पु¥याउने लगायतको लक्ष्य अभियानको छ ।
प्रतिक्रिया दिनुहोस्