
बैतडी । सरकारले बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण भएको क्षतिको आधारमा त्यहाँका २० स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा तीमध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह पनि समेटिएका हुन् । यस प्रदेशका सबैभन्दा बढी डोटी र डडेल्धुरामा पाँच/पाँच स्थानीय तह संकटग्रस्त क्षेत्रमा परेका छन् । यस्तै बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो धनजनको क्षति भएको थियो । बाढी पहिरोबाट प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो । संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्