
ग्रीष्माराज भण्डारी
काठमाडौं । तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानका अधिकांश किशोरीहरु मानसिक तनावमा रहेका छन् । दैनिक रुपमा विद्यालय गइरहेका उनीहरु घरमै थन्किँदा मानसिक तनाव भोग्न बाध्य भएका छन् । प्राथमिक स्तरमा मात्र पढाइ हुँदा अफगानिस्तानका हजारौं किशोरीहरु घरको काममै सीमित हुन पुगेका छन् । बीबीसीको साक्षात्कारका क्रममा घरमै थन्किएका किशोरी र शिक्षकहरुको एउटै आवाज छ कि मानसिक तनाव चरम उत्कर्षमा पुग्यो । १३ प्रान्तका विद्यार्थी र प्राध्यापकहरुसँगको साक्षात्कारमा उनीहरुले गहभरी आँसु पार्दै राजनैतिक दाउपेचको चेपुवामा आफूहरु परेको बताएका छन् ।
तालिवानले सत्ता हत्याएपछि विद्यार्थीहरुको पढाइ यथावत् रहने भन्दै नआतिन सन्देश दिएको तालिवानले बालबालिका लगायत किशोर किशोरीको भविष्य अन्धकारमा पारेको भन्दै दुःख मनाएका छन् । १५ बर्षीया किशोरी मीनाले पढाइबाट बञ्चित हुनुको क्षण मृत्युदण्ड भन्दा कम नभएको बताएकी छिन् । यसैगरी, १६ बर्षिया किशोरी लैलाले आफ्ना सहपाठीहरु के कस्तो अवस्थामा छन् भन्ने सम्म हेक्का नहँदा जिन्दगी अन्धकारमय भएको प्रतिक्रिया दिएकी छिन् । विद्यालय सञ्चालनमा रहँदा आफना साथीहरुसँग सुख दुःख साट्ने गरेकोमा घरभित्र बन्धकका रुपमा रहुन परेको भन्दै यो भन्दा मृत्यु नै उत्तम उपाय भएको बताइएकी छिन् ।
साक्षात्कारकै क्रममा विभिन्न विद्यालयका प्राध्यापकहरुले भने पढाइबाट बञ्चित किशोरी छात्राहरुको अवस्था दिनपरदिन नाजुक बन्दै गएको भन्दै उनीहरुको अवस्था बारे आफूहरु समेत अन्यौलमा रहेको बताएका छन् । आवाज उठाउन पनि डरमर्दो भएकाले तालिवानको ज्यादती चुपचाप सहने बाहेक अन्य कुनै बिकल्प नभएको बताएका छन् । गत जनवरीदेखि १२ महिनाको तलब भत्ता समेत नपाएका प्राध्यापकहरुले पढाइबाट बञ्चित किशोरीहरुको नाबालिक अवस्थामा नै बिबाह भएको भन्दै आगामी दिनमा सयौं किशोरीहरुको हालत यही हुने बताएका छन् । तालिवानले सत्ता कब्जा गरेपछि भागदौडकै क्रममा सयौं बालबालिका अभिभावक बिहिन बनेका छन् भने उतिकै संख्यामा अनाथ बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्