
बिराज रोस्यारा
कैलाली । कोरोनाको नयाँ भेरियन्ट भारत हुदै नेपाल प्रवेश नहोस भनेर सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिमको भारतसँग सीमा जोडिएका गड्डाचौकी, त्रिनगर, पुलघाट, झुलाघाट लगायत मुख्य नाकामा उच्च सतर्कता अपनाइएको छ । सुदूरपश्चिममा पूर्णरुपमा खोप लगाउने कार्यसमेत सम्पन्न नभएका कारण सङ्क्रमण फैलिने खतरा अझ बढेको हो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको सङ्क्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएको छ । सरकारका तर्फबाट खोप आपूर्तिमा कमी नभएकाले सबैलाई पूर्ण खोप लगाउन आग्रह गरिएको छ । सिमानाकामा खोप नलगाएका नागरिकलाई खोप लगाउने, सबैलाई मास्क वितरण गर्ने र सचेतना गर्ने काम भइरहेको गौरीफन्टा नाकाका हेल्पडेक्स इन्चार्ज गणेश साउदले बताउनु भयो ।
भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र कार्कीले बताउनुभयो । ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ । पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिएकाले अब यो नया भेरियन्टले कस्तो रुप लिन्छ त्यही अनुसार थप तयारी गरिने उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सबैलाई अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र साबुन वा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न नागरिकलाई आग्रहसमेत गरेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि हुँदा ६०९ जनाको मृत्यु भएको छ । विश्वस्वास्थ्य सङ्गठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्