
बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पहिलो शिकार याम सकिएको छ । यस याममा तीन झारल र नौ वटा नाउरको शिकार भएको जनाइएको छ ।
पहिलो याममा पाँच शिकार कम्पनी मार्फत शिकार गरिएको हो । शिकारका लागि पुगेका विदेशी शिकारीले यस पटक निर्धारित कोटाभन्दा कम शिकार गरेका हुन् ।
पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । यस पटक तीन वटा झारल र एक नाउरको सिकार हुन सकेन ।
एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि नआएको सञ्चालक शेरबहादुर वाईवाले जानकारी दिनुभयो ।
शिकार गरेपछि अधिकांश शिकारीले मासु खाने र सिङ, खुर र छाला आफ्नो देशमा लैजाने गर्दछन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । फाल्गुनदेखि बैशाखसम्म दोस्रो यामको सिकार हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस्